काठमाडौं। ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो ज्ञान संस्कर अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा ब्वाइजतर्फ २५ र गल्र्समा १६ टिमको सहभागिता रहने ज्ञान संस्कारकी भाइस प्रिन्सिपल सानी महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन्।
दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने ज्ञान संस्कारकी प्रशासन प्रमुख लालिमा मालाकारले जानकारी दिइन्।
विधागततर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, सर्वाधिक स्कोरकर्ता र उत्कृष्ट ‘थ्री प्वाइन्टर’ लाई ट्रफीसहित पुरस्कृत गरिने छ भने अनुशासित टिम पनि पुरस्कृत हुनेछ।
ज्ञान संस्कारका शिक्षक पुरु घिमिरेले प्रतियोगिताले विद्यालयस्तरका बास्केटबल खेल प्रेमी माझ विशेष उत्साह जगाउने विश्वास व्यक्त गरे। माघ २६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजकको कोर्टमा खेलाइने छ।


