काठमाडौं। भ्याली पब्लिकले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ।
टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भएको फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–१९ को साँघुरोअन्तरले पराजित ग¥यो। भ्याली पब्लिककी दृष्य गुरुङले ७ स्कोर गरिन्।
केभीकेएसएस ‘ए’ ले ल्यानडमार्क एकेडेमीलाई २८–२० ले हराउदै तेश्रो भयो। केभीकेएसएस ‘ए’ की खुशी मिटोकले १३ अंक जोडिन्। भ्याली पब्लिककी सेलिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’, इबीएकी सन्जिला मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र केभीकेएसएस ‘ए’ की एनी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने।
काठमाडौं युरो स्कुलले अनुशासित टिमको उपाधि हात पार्दा ल्यान्डमार्क एकेडेमी उदीयमान टिम घोषित भयो। विजेतालाई केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सोही अवसरमा राष्ट्रिय बास्केटबल खेलाडीद्वय रोशनी श्रेष्ठ र सोनी गुरुङ तथा सिनियर बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलाई सम्मान गरिएको थियो। माघ ११ गतदेखि सुरु भएको प्रतियोगितामा आयोजकको ३ सहित १६ टिमले प्रतिस्पर्धा गरेका थिए।


