काठमाडौं। राष्ट्रिय लिगअन्तर्गत मंगलबार तीन खेल सम्पन्न भएका छन्। जसमध्ये एक खेलमा जावलाखेल युथ क्लब विजयी हुँदा दुई खेल गोलरहित बराबरीमा सकिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबले नव जनजागृति युवा क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित हात पारेको हो।
जावलाखेलको जितमा हरिशराज भट्ट, बौबकार सिस्सोखो, युवराज ढकाल र धर्मेन्द्र कुँवरले एक गोल गरे। खेलको आठौं मिनेटमा हरिशराज भट्टले सानदार गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि जनजागृतिका खेलाडीले पेनाल्टी बक्सभित्र बौबकार सिस्सोखोलाई लडाएपछि जावलाखेलले पेनाल्टी पाएको थियो। सिस्सोखोले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।
४३औं मिनेटमा धर्मेन्द्र कुँवरको पासमा युवराज ढकालले गोल गर्दै पहिलो हाफमै जावलाखेललाई ३–० को मजबुत अग्रता दिलाए। दोस्रो हाफमा थप एक गोल गर्दै जावलाखेलले सहज जित दर्ता गर्यो।
यो जितसँगै पाँच खेल खेलेको जावलाखेलले ६ अंक जोडेको छ। समान खेल खेलेको जनजागृति अंकविहीन रहँदै तालिकाको पुछारमा छ।
यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा लिग लिडर एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) गोलरहित बराबरीमा रोकिए। यससँगै एपीएफले पाँच खेलबाट १३ अंक बनाएको छ भने एनआरटीले १० अंक जोड्दै चौथो स्थानमा यथावत् छ।
मंगलबारकै अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा एफसीबीचको प्रतिस्पर्धा पनि गोलरहित बराबरीमा सकिएको थियो।


