बक्सर चन्द्र सम्मानित


काठमाडौं। एक्स मकाउ बक्सिङ ग्रुपले आईवा पुरुष विश्व बक्सिङ च्याम्पियनशिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ। सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित भए।

डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कांस्य पदक जितेका थिए। विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र एक्लो नेपाली बक्सिङ खेलाडी हुन्। उनले ३ राष्ट्रका खेलाडीलाई हराउदै सेमिफाइनल यात्रा तय गरेका थिए।

चन्द्रले ३० हजार र लालबहादुर २० हजार नगद पुरस्कार पाए। पुरस्कार राशीका लागि एक्स मकाउ बक्सिङ ग्रुपका संयोजक तेजबहादुर चन्दले समन्वय गरेको नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तले जनाएका छन्।

सोही अवसरमा प्रशिक्षकत्रय बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो। उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीलगायतले एक कार्यक्रमबीच सम्मान गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको