काठमाडाैं। अन्तर वडा स्तरीय प्रथम ज्वालामुखी ब्याडमिन्टन कप काठमाडौंको मनमैजुस्थित दिपक ब्याडमिन्टन एकेडेमीमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
फाइनल खेलमा ज्वालामुखी गाउँपालिका–४ का सन्तोष भट्ट र रमेश थापा मगरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भए। उपविजेता बनेका ज्वालामुखी–५ का उमेश अधिकारी र राजेन्द्र गुरुङले दोस्रो स्थान हात पारे भने सञ्जय भण्डारी र निरज आले मगर तेस्रो स्थानमा रहे।
प्रतियोगिताको अवसरमा ज्वालामूखी गाउँपालिकाको नाम राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याएका खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुने खेलाडीहरूमा भलिबलका सरन सामरी क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, बक्सिङका आशिष दुवाडी र लालु आले मगर, उसुकी जुनी राई, करातेका राजाराम मुल तथा कुस्तीकी कोपिला थापा मगर रहेका छन्। साथै प्रशिक्षक गौतम श्रेष्ठ लाई पनि विशेष सम्मान प्रदान गरिएको छ।
कार्यक्रममा ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै सहित जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक ज्वालामूखी सेवा समाज ले प्रतियोगिताले खेलकुदमार्फत युवा ऊर्जा, आपसी एकता र सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।


