साम्बाको स्ट्याटसपछि एन्फाले भन्यो- उपचारमा सहजीकरणका लागि पहल गर्छौं


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि आवश्यक समन्वय तथा सहजीकरण प्रक्रिया अगाडि बढाएको जनाएको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खेलका क्रममा घुँडामा चोट लागेपछि हाल अस्ट्रेलियाको व्यावसायिक क्लब वेलेङ्टन फिनिक्स एफसीबाट खेलिरहेकी भण्डारीको उपचार प्रक्रियालाई सहज बनाउन पहल गरिएको हो। व्यावसायिक खेलमा खेलाडी घाइते भएमा सम्बन्धित क्लबले उपचारको जिम्मेवारी लिने अन्तर्राष्ट्रिय प्रचलन रहे पनि संघले आवश्यक समन्वयका लागि निरन्तर पहल गरिरहेको जनाएको छ।

संघका अनुसार भण्डारीको उपचारका विषयमा सम्बन्धित क्लब तथा कतार फुटबल संघसँग औपचारिक र अनौपचारिक दुवै माध्यमबाट संवाद भइरहेको छ। साथै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कूटनीतिक सहजीकरणका लागि समेत पत्राचार गरिएको जानकारी गराइएको छ।

यसै सन्दर्भमा संघले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कतारमा स्वास्थ्य उपचार तथा शल्यक्रिया प्रक्रिया सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ।

संघले यसअघि राष्ट्रिय महिला टोलीका खेलाडीहरू— गिता राना, हिरा कुमारी भुजेल, पुनम घर्ति मगर, रेणुका नगरकोटी लगायतका खेलाडीहरूको उपचार खर्च व्यहोरेको उल्लेख गर्दै राष्ट्रिय टोलीप्रति आफ्नो दायित्वबाट पछि नहट्ने स्पष्ट पारेको छ।

राष्ट्रिय टोलीकी कप्तान भण्डारीप्रति सम्पूर्ण फुटबल परिवार एकजुट रहेको र उनलाई यथाशीघ्र मैदानमा फर्काउने लक्ष्यसहित आवश्यक सम्पूर्ण पहल जारी रहने संघले जनाएको छ।

May be an image of text

 

May be an image of ticket stub and text


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको