राष्ट्रिय लिग: प्लानिङ ब्वाइज र जावलाखेल विजयी


काठमाडौं। पापा ईबु केबेको शानदार ह्याट्रिकसँगै प्लानिङ ब्वाइज युनाइटेडले एन्फा राष्ट्रिय लिगमा संकटा फुटबल क्लबमाथि सहज जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनेको दोस्रो खेलमा प्लानिङले ४–० को सहज जित निकालेको हो। लिगमा प्लानिङको यो पाँचौं जित हो।

यो जितसँगै ७ खेल खेलेको प्लानिङले १६ अंक जोडेको छ भने संकटाको तेस्रो हार दर्ता भएको छ। समान खेलबाट संकटाको ६ अंक छ।

खेलको १९औं मिनेटमा प्रतापसिंह राईको पासमा ईबु केबेले गोल गर्दै प्लानिङ ब्वाइजलाई प्रारम्भिक अग्रता दिलाए। ३०औं मिनेटमा रोमन भुजेलको पासमा श्यामु मुर्मुले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए।

८०औं मिनेटमा ईबु केबेले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङलाई ३–० को स्थिति ल्याए। खेलको अन्तिम मिनेटमा ईबु केबेले पुनः गोल गर्दै ह्याट्रिक पूरा गरे।

यस्तै, अर्को खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–० को सहज जित हात पारेको छ।

जावलाखेलले ६ खेलबाट ९ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ। पुलिसको भने यो चौथो हार हो र उनीहरूको अंक ४ रहेको छ।

खेलको १८औं मिनेटमा निकोलस ओडाने ह्यामिल्टनको गोलमा जावलाखेलले अग्रता लियो। त्यसको आठ मिनेटपछि युवराज ढकालले गोल गर्दै अग्रता दोब्बर बनाए।

७४औं मिनेटमा जावलाखेलका अनिल रानामगरले पुलिसका धीरेन्द्रबहादुर शाहलाई पेनाल्टी बक्सभित्र लडाए, तर पुलिसले पेनाल्टी अवसरको सदुपयोग गर्न सकेन। पुलिसका कप्तान भारत शाहले प्रहार गरेको पेनाल्टी क्रसबार हुँदै बाहिरियो।

७८औं मिनेटमा विकास दर्लामी मगरले उत्कृष्ट गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको