नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण खेल खेल्ने


काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विभिन्न महादेशका राष्ट्रिय टोलीलाई नियमित प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरेको ‘फिफा सिरिज’ कार्यक्रमअन्तर्गत नेपालले सहभागिता जनाउन लागेको हो।

प्रतियोगिताका खेलहरू थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा सञ्चालन हुनेछन्। प्रतियोगितामा नेपालसहित कंगो, थाइल्यान्ड तथा ओसिनिया क्षेत्रको एक टोलीको सहभागिता रहनेछ।

तालिकाअनुसार नेपालले अप्रिल १२ मा कंगोसँग पहिलो खेल खेल्नेछ। सोही दिन थाइल्यान्डले ओसिनिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि १५ अप्रिल पहिलो खेलका विजेता टोलीबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ भने पराजित टोलीहरूले तेस्रो स्थानका लागि खेल्नेछन्।

फिफा सिरिज विश्वभरका राष्ट्रिय टोलीलाई ठूला प्रतियोगिताबाहेक पनि अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम हो। यस प्रतियोगिताले टोलीहरूलाई प्रदर्शन सुधार गर्न, विश्व वरीयतामा अंक जोड्न तथा महादेशीय र विश्वस्तरीय प्रतियोगिताको तयारीलाई थप सुदृढ बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको