कप्तान ब्रुकको शतकमा इंङ्ग्ल्याण्ड सेमिफाइनलमा


काठमाडौं। कप्तान ब्रुकको शतकको मद्दतमा इंङ्ग्ल्याण्ड आइसीसी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।

लगातार सुपर एटको दोस्रो खेलमा जित हासिल गर्दै अन्तिम चारको यात्रा तए गरेको हो।

बुधबार सम्पन्न खेलमा इंङ्ग्ल्याण्डले पाकिस्तानलाई २ विकेटले हराएको थियो। यो जितसँगै समूह २ बाट इंङ्ग्ल्याण्डले ४ अंक जोडेको छ। २ खेल खेलेको पाकिस्तान र १ खेल खेलेको न्युजिल्याण्डको समान १ अंक छ। सह आयोजक श्रीलंका अंकविहिन छ।

पाकिस्तानले दिएको १६५ रनको लक्ष्य पछ्याएको इंङ्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।

कप्तान ब्रुकले आक्रामक ब्याटिङ गर्दै ५१ बलमा १० चौका र ४ छक्कासहित १ सय रन बनाए। टी-२० विश्वकप इतिहासमा कप्तानका रूपमा शतक बनाउने ब्रुक पहिलो खेलाडी बने। विल ज्याक्सले २८ र साम करनले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पाकिस्तानका मोहम्मद नवाज र उसमान तारिकले समान २ विकेट लिए।

त्यसअघि पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो।

पाकिस्तानका लागि साहिबजादा फरहानले सर्वाधिक ६३ रन बनाए। बाबर आजम‌ र फकर जमानले समान २५ रन र शादाब खानले २३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इंङ्ग्ल्याण्डका लियाम डसनले ३, जेमी ओभरटन र जोफ्रा आर्चरले समान २ र आदिल रसिदले १ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको