काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लब विजयी भएका छन् भने संकटा फुटबल क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
चर्च ब्वाइजको जितमा विदेशी खेलाडी सर्ज डिका नायक बने। उनले खेलको ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो।
यस जितसँगै चर्च ब्वाइजले आठ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
त्यसअघि भएको अर्को खेलमा संकटा फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच गोलरहित बराबरी भएको थियो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न भने सफल हुन सकेनन्।
यो नतिजासँगै नौ खेलबाट संकटाले १० अंक जोडेको छ भने आठ खेल खेलेको सातदोबाटोको खातामा ८ अंक पुगेको छ।
यस्तै, अर्को खेलमा मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।
मच्छिन्द्रको जितमा विदेशी खेलाडी जोनाथन इडुआरडो नायक बने। उनले खेलको ३३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको अन्तिम मिनेटमा अर्को गोल थप्दै व्यक्तिगत दुई गोल पूरा गरे र मच्छिन्द्रको जित पक्का बनाए।
यस जितसँगै मच्छिन्द्रले आठ खेलबाट १९ अंक जोड्दै तालिकामा मजबुत स्थिति बनाएको छ।


