काठमाडौं। भारतले आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा ऐतिहासिक प्रदर्शन गर्दै न्युजिल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको थियो। जवाफमा न्युजिल्याण्ड १९ ओभरमा १५९ रनमै अलआउट हुँदा भारतले ९६ रनको प्रभावशाली जित निकाल्दै उपाधि जितेको हो।
भारतका लागि सञ्जु सामसनले विस्फोटक ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरी ८९ रन बनाए। उनले सुरुदेखि नै आक्रामक खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए।
ओपनर अभिषेक शर्माले २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रनको तीव्र अर्धशतक बनाए। त्यसपछि इशान किशनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रन जोड्दै भारतको स्कोर अझ उकासे।
मध्यक्रममा हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए भने कप्तान सूर्यकुमार यादव पहिलो बलमै आउट भए। इनिङ्सको अन्त्यतिर शिवम दुबेले ८ बलमा ३ चौका र २ छक्कासहित अविजित २६ रन बनाए भने तिलक वर्मा ८ रनमा अविजित रहे।
न्युजिल्याण्डका लागि जेम्स निशाम सबैभन्दा सफल बलर बने। उनले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए। म्याट हेन्री र रचिन रविन्द्रले समान १–१ विकेट लिए।
लक्ष्य पछ्याउँदा न्युजिल्याण्ड दबाबमा
२५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले सुरुवातमै लगातार विकेट गुमायो।
टिम सिफर्टले २६ बलमा ५२ रन बनाएर टोलीलाई सम्हाल्ने प्रयास गरे। कप्तान मिचेल सान्टनरले ३५ बलमा ४३ रन जोडे भने ड्यारिल मिचेलले १७ रन बनाए। तर अन्य ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा न्युजिल्याण्ड १५९ रनमै समेटियो।
भारतको घातक बलिङ
भारतका लागि जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिए। अक्षर पटेलले ३ विकेट लिए भने हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान १–१ विकेट लिए।
कीर्तिमान
– २५५ रन टी–२० विश्वकप फाइनल इतिहासकै सबैभन्दा ठूलो टोली स्कोरमध्ये एक
– फाइनलमा भारतले १८ छक्का प्रहार
– फाइनलमा ९६ रनको फराकलिलाे अन्तरले ठूला जितमध्ये एक