काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई साधारण सभा तथा निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ।
राखेपको संघ संस्था समन्वय शाखाले सोमबार एन्फालाई पत्र पठाउँदै साधारण सभा तथा निर्वाचनको प्रक्रिया तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको हो।
पत्रमा एन्फाले परिषद्बाट दिइएका निर्देशनहरूको पूर्ण पालना नगरेको, साथै विभिन्न गतिविधिबारे परिषद्मा उजुरी परेको उल्लेख गरिएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा समेत देशको प्रतिष्ठा र फुटबल विकासमा नकारात्मक असर पर्न सक्ने भन्दै परिषद्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
त्यसैले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को प्रावधान अनुसार परिषद्को स्वीकृति नआउञ्जेलसम्म एन्फाको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्न परिषद्ले निर्देशन दिएको हो।
यस विषयमा जानकारीका लागि युवा तथा खेलकुद मन्त्रालय लगायत सम्बन्धित निकायलाई पनि बोधार्थ पठाइएको छ।


