काठमाडौं। जर्मन बुन्डेसलिगा अन्तर्गत २६औं साताकाे खेलमा बायर लेभरकुसेन र बायर्न म्युनिख १–१ गोलको बराबरीमा रोकिएका छन्। यो बराबरीसँगै बायर्न म्युनिख २६ खेलबाट ६७ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ।
खेलको छैटाैं मिनेटमै अलेक्स गार्सियाले गोल गर्दै बायर लेभरकुसेनलाई अग्रता दिलाएका थिए। उनले पात्रिक शिकको पासमा उत्कृष्ट गोल गरेका थिए।
पहिलो हाफमा बायर्न म्युनिखले बराबरी गर्ने अवसर खोजे पनि सफल हुन सकेन। खेलको ४२औँ मिनेटमा बायर्नका निकोलस ज्याक्सन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
दोस्रो हाफमा भने बायर्नले खेलमा फर्किने प्रयास गर्यो। खेलको ६९औँ मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई १–१ को बराबरीमा ल्याए। उनलाई माइकल ओलिसेले पास दिएका थिए।
त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन। इन्जुरी समयमा लेभरकुसेनका इब्राहिम माजा लगायतका प्रहार बायर्नका गोलरक्षक स्वेन उलराइखले बचाएपछि खेल १–१ को बराबरीमा सकिएको हो।


