काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्री भगवती क्लब र नव जनजागृति क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन्।
दिनको पहिलो खेलमा श्री भगवती क्लबले मनाङ मर्स्याङदी क्लबलाई १–० ले पराजित गर्यो। भगवतीको जितमा सिमान्त थापाले निर्णायक गोल गरे। उनले दोस्रो हाफको ४६औं मिनेटमा गरेको गोल नै खेलको एकमात्र तथा निर्णायक गोल बन्यो।
यस्तै, अर्को खेलमा नव जनजागृति क्लबले काक्रेबिहार क्लबलाई २–१ ले हरायो। जनजागृतिको जितमा छिन्ना लामा र उदितनारायण चौधरीले समान एक–एक गोल गरे भने काक्रेबिहारका लागि सोनाम आचार्यले सान्त्वना गोल फर्काए।
खेलको ३६औं मिनेटमा छिन्ना लामाले गोल गर्दै जनजागृतिलाई अग्रता दिलाएका थिए। तर, खेलको ८७औं मिनेटमा सोनाम आचार्यले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमै उदितनारायण चौधरीले निर्णायक गोल गर्दै जनजागृतिको जित सुनिश्चित गरे।


