काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत सोमबार भएको लिग चरणको अन्तिम दुई खेलमा त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट बास्केटबल क्लब विजयी भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मीले केभिसी हाउण्ड्स र गोल्डेनगेटले टाइम्स बास्केटबल क्लबलाई पराजित गरेका हुन्।
आर्मी र गोल्डेनगेटले जितसहित पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ। आर्मीले लिग चरणमा १४ मध्ये १३ खेल जित्दै २७ अंक जोडेर शीर्ष स्थानमा रहेको हो।
डबल राउण्ड रोविनका आधारमा भएको लिगमा आर्मी पहिलो चरणमा टाइम्ससँग मात्र पराजित भएको थियो। यस्तै गोल्डेनगेटले १४ मध्ये १२ खेल जित्दै २६ अंक जोडेर दोस्रो भयो। अन्तिम खेलमा पराजित टाइम्सले १० जित र ४ हारबाट २४ अंक जोडेर तेस्रो स्थानमा रह्यो। हाउण्ड्सले ९ जित र ५ हारबाट २३ अंक जोडेर चौथो स्थानमा टुङ्ग्यायो।
अब पहिलो क्वालिफायरमा आर्मी र गोल्डेनगेटबीच प्रतिस्पर्धा हुनेछ र विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले भने अर्को मौका पाउनेछन्। टाइम्स र हाउण्ड्सले दोस्रो क्वालिफायरमा स्थान बनाउन एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ। यस खेलमा पराजित हुने टोली बाहिरिनेछ। सोमबारको दुवै खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे। पहिलो खेलमा आर्मीले केभीसी हाउन्ड्सलाई १०३–९९ ले पराजित गर्यो।
खेलमा आर्मी र हाउण्ड्स दुवैले समान दुई क्वाटर आफ्नो पक्षमा पारेको थियो। पहिलो क्वाटरमा हाउण्ड्सले २५-१८ को अग्रता लिएको थियो। तर दोस्रो क्वाटरमा आर्मीले पुनरागमन गर्दै २९-१५ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४७-४० को अग्रता बनाएको थियो। तेस्रो क्वाटर हाउण्ड्सले ३२-२५ ले आफ्नो पक्षमा पारेपछि चौथो क्वाटरअघि हाउण्ड्सले ७२-७२ को बराबरी गरेको थियो।
तर चौथो तथा निर्णायक क्वाटरमा आर्मीले ३१-२७ को अग्रता बनाउँदै रोमाञ्चक जित हात पारेको हो। आर्मीका निश्चल महर्जनले २२ अंक जोडे। उनी म्यान अफ दि म्याच घोषित भए। यस्तै सोमबारको दोस्रो खेलमा गोल्डनगेटले टाइम्सलाई ९७-९५ ले हरायो।
निकै प्रतिस्पर्धातम्क खेलमा गोल्डेनगेटले टाइम्सलाई ओभरटाइममा पराजित गरेको हो। निर्धारित चार क्वाटरमा ८९-८९ अंक जोडेपछि लिगमा पहिलो पटक ओभरटाइमबाट विजेता टुङ्गो लागेको हो।
ओभरमा गोल्डेनगेटले ८-६ को अग्रता बनाउँदै जित हात पारेको हो।
त्यसअघि टाइम्सले पहिलो क्वाटर २३-१४ र दोस्रो क्वाटर २२-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४५-२८ को अग्रता बनाइसकेको थियो। तेस्रो क्वाटरमा दुवैले समान ३१-३१ अंक जोडेपछि टाइम्सले चौथो क्वाटरअघिसम्म ७६-५९ ले अघि थियो। तर चौथो क्वाटरमा गोल्डेनगेटले सानदार पुनरागमन गर्दै ३०-१३ ले आफ्नो पक्षमा पार्दै खेल ओभरटाइसम्म पुर्याएको थियो। गोल्डेनगेटका जाइन खान मयान अफ दि म्याच घोषित भए। उनले सर्वाधिक २९ अंक जोडे।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको एचजेएनबीएको प्लेअफका खेलहरु मंगलबारदेखि सुरु हुनेछ।
मंगलबार पहिलो क्वालिफाय र एलिमिनेटर खेल हुनेछन।
क्वालिफायरमा आर्मी र गोल्डेनगेटबीच खेल हुनेछ भने टाइम्स र हाउण्ड्सबीच एलिमिनेटर खेल हुनेछ। कीर्तिपुर, रोएल, प्लेक्स एरेना र सोलो बास्केटबल बटम चार रहँदै प्लेअफ होडबाट बाहिरिएका छन्। चारै टोली रेलिगेट भएका छन् भने अर्को संस्करणका लागि क्वालिफायर खेल्नुपर्ने छ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


