काठमाडौं। राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।
नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन लिग चरणका खेल सकिएसँगै पुरुषतर्फ अन्तिम चार टोलीको टुंगो लागेको हो।
पुरुषतर्फ समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता तथा गण्डकी प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। आर्मीले लिग चरणमा कर्णाली प्रदेशलाई ३७–०, गण्डकी प्रदेशलाई १७–५ तथा मधेस प्रदेशलाई ७४–० ले हराउँदै अपराजित रहँदै समूह विजेता बन्न सफल भयो।
गण्डकी प्रदेशले मधेसलाई ३६–० र कर्णालीलाई १२–५ ले पराजित गरे पनि आर्मीसँग १७–५ ले हार व्यहोर्दै उपविजेताको रूपमा अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
यस्तै, समूह ‘बी’ बाट एपीएफ क्लब विजेता तथा कोशी प्रदेश उपविजेता बनेका छन्। एपीएफले कोशीलाई २४–० र बागमतीलाई ३४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनायो। कोशीले सुरुआती हारपछि बागमतीलाई २९–५ ले पराजित गर्दै उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गर्यो।
महिलातर्फ समूह ‘ए’ को समीकरण पनि टुंगिएको छ। बागमती प्रदेश विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। बागमतीले मधेसलाई ३५–० ले हराउनुका साथै कर्णालीसँग १०–१० को बराबरी खेल्दै लुम्बिनीलाई २०–० ले पराजित गरी समूह विजेता बन्यो।
कर्णालीले बागमतीसँग बराबरी खेल्नुका साथै लुम्बिनीलाई २४–० र मधेसलाई २७–० ले हराउँदै उपविजेता बन्यो।
महिलातर्फ समूह ‘बी’ को भने एक खेल बाँकी रहेको छ। यस समूहबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेको छ। आर्मीले एपीएफलाई १४–५ र सुदूरपश्चिम प्रदेशलाई ४४–० ले पराजित गर्दै समूह विजेता बनेको हो। अब सुदूरपश्चिम र एपीएफबीच हुने खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचन्द्र मेहताले उद्घाटन गरेको प्रतियोगिताको सेमफाइनल फाइनल तथा समापन आइतबार हुनेछ। प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले समान ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा विभागीय टोलीहरू एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै बागमती, कर्णाली र मधेस प्रदेशका महिला तथा पुरुष टोली सहभागी छन्। कोशी, सुदूरपश्चिम र लुम्बिनीबाट महिला टोली मात्र सहभागी हुँदा गण्डकी प्रदेशबाट भने पुरुष टोलीले मात्र प्रतिस्पर्धा गरिरहेको छ।


