काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको फाईनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९५-७४ ले पराजित गर्दै गोल्डेनगेट च्याम्पियन बनेको हो।
यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा गरि आर्मीले तीनपटक गोल्डेनटलाई पराजित गरेको थियो। तर, फाईनलमा भने गोल्डेनगेटले आर्मी विरुद्ध बदला लियो।
गोल्डेनगेटले पहिलो क्वाटरमा २४-१४ को अग्रता बनाएको थियो। दोस्रो क्वाटर पनि गोल्डेनगेटले १७-१२ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ४१-२६ को अग्रता बनायो।
तेस्रो क्वाटर गोल्डेनगेटले २७-२५ ले आफ्नो पक्षमा पार्दै अग्रता बढायो। गोल्डेनगेटले चाैथो क्वाटर २७-२३ ले आफ्नो पक्षमा पार्दै ९५-७४ ले खेल जितेको हो। खेलकाे प्लेयर अफ दि म्याच गोल्डेनगेटका जाईन खान घोषित भए।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता थियो।
प्रतियोगिताको विजेता गोल्डेनगेटले ट्रफीसँगै नगद ४ लाख प्राप्त गरेको छ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्यो। यसअघि पहिलो संस्करणमा विजेता बनेको टाईम्स बास्केटबल क्लब यसपटक तेस्रो स्थानमा सिमित भयो।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका गोल्डेनगेटका निकेश रख्याल मगर लिगकै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए।


