एपीएफलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

काठमाडाैं। ३८औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित शहीद रङ्गशालामा आइतबार राति सम्पन्न खेलमा पूर्वविजेता विभागीय टोली एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो।

चर्च ब्वाइजको जितमा समिर तामाङले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको २७औँ मिनेटमा आशिष सोनामले मिलाइदिएको क्रस पासलाई आकर्षक गोलमा परिणत गरे। समिर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ हात पारे।

एपीएफले २०७८ सालमा भारतीय टोली पन्जाब पुलिस क्लबलाई १–० ले पराजित गर्दै विराट गोल्डकपको उपाधि जितेको थियो। उपाधि दाबेदारका रूपमा हेरिएको एपीएफको यात्रा यसपटक भने क्वार्टरफाइनलमै सीमित भएको छ। प्रतियोगिता अन्तर्गत सोमबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको