काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई ७४ रनले पराजित गर्दै शानदार जित हात पारेको छ।
एपीएफले दिएको ३९१ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेश ५० ओभरमा ८ विकेट गुमाउँदै ३१६ रनमै सीमित भयो।
पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रनको उच्च योगफल तयार गर्यो। एपीएफका लागि आसिफ शेखले १४२ बलमा १५ चौका र १७ छक्कासहित शानदार २०८ रन बनाए। उनले अविस्मरणीय इनिङ्स खेल्दै टोलीलाई विशाल स्कोरतर्फ डोर्याए।
त्यसैगरी कप्तान रोहित पौडेलले ५५ रन, सुन्दीप जोराले ५६ रन बनाए। लोकेश बम २१ रनमा अविजित रहँदा कमल ऐरीले ६ बलमा १८ रनको आक्रामक योगदान दिए। दीपक बोहराले १३ रन जोडे भने सुमित महर्जनले ४ रन बनाए।
मधेश प्रदेशका लागि बलिङतर्फ रुपेश सिंहले ३ विकेट लिए भने रञ्जित कुमारले १ विकेट हात पारे।
जवाफमा मधेशका मयान यादव शून्यमा आउट हुँदा टोली दबाबमा परेको थियो। एमडी समीरले २२ रन र कप्तान अनिल साहले २९ रन बनाए।
मध्यमक्रममा अर्निको यादवले ७३ बलमा ८६ रनको उत्कृष्ट इनिङ्स खेले भने मोहम्मद आदिल आलमले ४३ बलमा ८७ रनको विस्फोटक प्रदर्शन गरे। विशाल शुस्लिङले ३९ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन।
एपीएफका अभिषेक गौतमले ३ विकेट लिए। कमल ऐरीले २ विकेट झारे भने भुवन कार्की, रोहित पौडेल र युवराज खत्रीले समान १/१ विकेट लिए।


