मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा


काठमाडाैं। विभागीय टोली नेपाल पुलिस क्लब ३८औँ संस्करणको  विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद मैदानमा सोमबार भएको रोमाञ्चक तेस्रो क्वाटरफाइनलमा पुर्व विजेता मछिन्द्र फुटबल क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो। टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो।

सडन डेथमा पुलिसका सुजन मगरले गोल गर्दा मछिन्द्रका श्याम मुर्मुको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाएका थिए। पुलिसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका गोलरक्षक शत्रुधन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार पाए।

टाइब्रेकरमा पुलिसका तर्फबाट राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र गोलकिपर शत्रुधन चौधरीले गोल गरे। मछिन्द्रका तर्फबाट रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले गोल गरेका थिए।

यसअघि प्रतिस्पर्धात्मक खेलको २९औँ मिनेटमा धिरेन्द्र शाहको गोलबाट पुलिसले अग्रता लिएको थियो। ओसेन्द्र कटुवालको पासलाई सदुपयोग गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए। तर, पुलिसको त्यो खुसी धेरै समय टिक्न सकेन । खेलको ३४ औँ मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

नेपाल पुलिस क्लब विराट गोल्डकपको २०७२ सालको विजेता हो। यता, २०८२ सालको विजेता मछिन्द्र भने यसपटक पहिलो खेलबाटै बाहिरिन पुगेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीबीच हुने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको