काठमाडौं। १०औं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानको घोषणा गरेको छ। टोलीको नेतृत्व मिडल ब्लकर चिरञ्जीवी खड्का (चिरन) ले गर्ने भएका छन्।
हेल्प नेपालले मंगलबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। अनुभवी खेलाडी चिरञ्जीवीको कप्तानीमा टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बैशाख १० गतेदेखि सुरु हुने प्रतियोगितामा देशका विभिन्न क्लबहरूको सहभागिता रहनेछ।
हेल्प नेपालका महत्वपूर्ण खेलाडीमध्येका एक चिरञ्जीवी मिडल ब्लकरको भूमिकामा प्रभावशाली मानिन्छन्। उनको नेतृत्वमा टोलीले उपाधि दाबेदारी प्रस्तुत गर्ने लक्ष्य राखेको छ।


