मछिन्द्र सेमिफाइनलमा


काठमाडाैं। साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

इटहरी रंगशालामा मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो। सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो।

मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले प्रहार गोलमा परिणत गरेका थिए। यद्यपि, पेमा तामाङको प्रहार झापाली गोलकिपर मौषम मगरले बचाएका थिए।

झापा ११ का प्रसान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरेका थिए भने गोलकिपर मौषम मगरको प्रहार निर्णायक क्षणमा आकाशिएको थियो।

यसअघि खेलको ५५औं मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो। तर ४३औं मिनेटमा डि–एरिया भित्र योगेश गुरुङको ह्यान्ड भएपछि रेफ्री उमेश बिडारीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सनिस श्रेष्ठले सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए।

बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी हुँदै सडेनडेथमा पुगेको हो। उत्कृष्ट प्रदर्शन गरेका सनिस श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।

अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। युवा समाज उद्घाटन खेलमै जस्टजोन एफसी नाइजेरियालाई हराउँदै अन्तिम चारमा पुगिसकेको छ।

इटहरी गोल्डकपमा दोस्रो पटक सहभागी मछिन्द्र र झापा ११ बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा भेट भएको थियो, जसमा मछिन्द्रले १–० को जित निकालेको थियो।

बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता बैशाख ७ गतेसम्म चल्नेछ, जहाँ विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको