काठमाडौं। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल दोस्रो लेगमा एट्लेटिको म्याड्रिड र बार्सिलोना बीच रोमाञ्चक प्रतिस्पर्धा भएको छ।
खेलमा बार्सिलोनाले २–१ को जित निकाले पनि समग्र नतिजामा ३–२ ले अघि रहँदै एट्लेटिको म्याड्रिड सेमिफाइनलमा प्रवेश गरेको हाे।
घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाका लामिन यामालले चौथो मिनेटमै उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि २४औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल थप्दै बार्सिलोनालाई २–० को बलियो अवस्थामा पुर्याए।
तर ३१औं मिनेटमा अदेमोला लुकम्यानले गोल फर्काउँदै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे। पहिलो हाफ २–१ मै सकियो।
दोस्रो हाफमा एट्लेटिकोले लगातार आक्रमण गरे पनि बार्सिलोनाका गोलरक्षक जोआन गार्सिया ले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा जोगाइरहे। जुलियन आल्भारेज, मार्कोस लोरेन्टे लगायतका खेलाडीका प्रहार रोकिए।
७९औं मिनेटमा बार्सिलोनाका एरिक गार्सियाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसपछि एट्लेटिकोले दबाब बढाए पनि निर्णायक गोल गर्न सकेन।
खेल २–१ ले बार्सिलोनाले जिते पनि पहिलो लेगको अग्रता जोगाउँदै एट्लेटिको म्याड्रिड समग्रमा ३–२ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो।


