अपराजित रहँदै आर्मी पीएम कपको फाइनलमा, लुम्बिनी १ विकेटले पराजित


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई रोमाञ्चक रुपमा १ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

लुम्बिनीले दिएकाे १३९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

जवाफमा आर्मीको सुरुआत राम्रो हुन सकेन। त्रितराज दास १० र कप्तान बिनोद भण्डारी शून्य रनमा चाँडै आउट भएपछि दबाबमा परेको आर्मीलाई कुशल मल्लले ४१ रनको महत्वपूर्ण इनिङ्स खेलेर खेलमा फर्काए। अर्जुन साउदले २८ रन बनाए भने इमरान शेख अन्तिमसम्म अविजित रहँदै टोलीलाई जित दिलाए।

लुम्बिनीका लागि निर्मल गुरुङले ४ विकेट लिँदा सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

त्यसअघि पहिले ब्याटिङ थालेकाे लुम्बिनीले ३९.२ ओभरमा १३८ रन बनाएको थियो। उसका लागि रञ्जीत खड्का २८, देव खनाल २३ र आकाश त्रिपाठी २१ ले महत्वपूर्ण योगदान दिए। आर्मीका कुशल मल्लले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने नरेन साउदले २ विकेट लिए।

यस जितसँगै आर्मी ९ खेलबाट ८ जित र १ बराबरीसहित १७ अंक जोड्दै फाइनलमा प्रवेश गरेको छ। अब उसले उपाधिका लागि सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

पराजित लुम्बिनी प्रदेश भने ९ खेलबाट ९ अंकसहित छैटौं स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको