काठमाडाैं। झापा–११ ले विराटनगरमा सम्पन्न ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सहिद रंगशालामा आइतबार राति सम्पन्न फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो।
उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो। यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक यो प्रतियोगिता जितेको थियो। झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे। सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए।
प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ८१औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले गोलमा परिणत गरेका थिए। झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। उनले फागुराम थारूको पासमा गोल गरेका थिए। खेलको थप गरिएको (इन्जुरी) समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर घटाए पनि हार टार्न सकेनन्।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो। झापाका फागुराम थारू ‘हाइ स्कोरर’ (सर्वाधिक गोलकर्ता) बने। उनले प्रतियोगिताभरीमा ३ गोल गरेका थिए।
सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनले नगद ५१ हजार रुपैयाँ पाए। यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए।
विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा बातवरण मन्त्री भिम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए। चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टिमको सहभागिता थियो।


