काठमाडाैं। स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरेकाे पछि उपाधिको दाबेदार नेपाल पुलिस क्लबले झापाको भद्रपुरमा जारी चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो जित गरेकाे छ।
याे जितसँगै क्वार्टरफाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
साेमबार सम्पन्न खेलमा पुलिसको जितमा रेखाले ह्याट्रिक पूरा गर्दा मिना देउवाले दुई र अनुष्का शेर्पाले एक गाेल थपिन।
खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन्। डिबक्समा रहेकी पौडेलले अर्की स्ट्राइकर मिना देउवाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन्। पुलिसको लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो। रेखा पौडेलले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसकेपछि देउवाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन्।
खेलको २९औँ मिनेटमा सम्झना लावतीको पासमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन्। ३८औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन्।
पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो। दोस्रो हाफको ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्काे गोल थपिन्।
रेखाको पासमा अनुष्काले देब्रे बार च्यापेर गरेको प्रहार गोल भएको थियो। खेलको ७७औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन्। मिन देउवाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन्।
चन्द्रगढीले विपक्षीमाथि फितलो प्रदर्शन गरेको थियो। पहिलो हाफको अतिरिक्त समयमा पुलिसका गोल किपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी खेलाडी रेखा बिष्टले पोष्टको दिशा दिन नसक्दा सान्त्वना गोल गर्ने अवसर खेर गएको थियो।
खेलको प्लेयर अफ द म्याच विजेता पुलिसकी ह्याट्रिककर्ता रेखा पौडेल भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्।


