‘आशा गरिएका खेलाडीले राम्रो गर्न सकेनन्’


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले आशा गरिएका खेलाडीले राम्रो खेल्न नसक्दा हार बेहोरेको बताएका छन्।

युएईसँगको हारपछि पत्रकार सम्मेलनमा उनले कुनै एक खेलाडीको अभाव खड्किएको भन्दा पनि आशा गरिएका खेलाडीबाट राम्रो प्रदर्शन आउन नसकेको कप्तान दीपेन्द्रले बताए।

नियमित कप्तान रोहितकुमार पौडेल र आसिफ शेखको अभाव टोलीमा नखड्किएको उल्लेख गरे। तर, पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेका खेलाडी चल्न नसकेको उनको भनाइ थियो। उनले पिच राम्रो छ भनेर नै पहिले ब्याटिङ रोजेको स्पष्ट पारे। साथै नेपाली टी-२० क्रिकेट टोलीका नवनियुक्त कप्तान दीपेन्द्रले आफ्नो टिम राम्रो रहेको तर मैदानमा उनीहरू क्षमताअनुरूप खेल्न धारणा राखेका छन्। उनले प्रधानमन्त्री कपमा राम्रो खेलेका युवा खेलाडीहरू छानेर नै टोलीमा आएको उल्लेख गरेका छन्। तर, उनीहरूले आगामी दिनमा राम्रो खेल्ने कप्तान दीपेन्द्रको विश्वास छ।

युएईका प्रशिक्षक लालचन्द राजपूतले शृंखलामा जित निकाल्नु सुखद र राम्रो पक्ष रहेको बताए। वर्षाले खेल प्रभावित गरे पनि आफ्नो बलरले राम्रो प्रदर्शन गरेको उनले उल्लेख गरे। तर उनले नेपाली टोली पनि लक्ष्य पछ्याउने क्रममा बलियो साबित भएको धारणा राखे।

विशेषगरी सन्दीप लामिछानेले सधैजस्तो प्रभावशाली बलिङ गरेको उनको भनाइ छ। विश्वकपपछि युएईले एक महिना क्याम्प राखेको त्यसमा फिल्डिङ र बलिङमा धेरै सुधार आएको उनी बताउँछन्। यद्यपि, उनले केही पक्षमा सुधार आवश्यक देखेका छन्। अनुभवी खेलाडीले राम्रो खेल्नु टोलीका लागि महत्वपूर्ण पक्ष रहेको उनको बुझाइ छ।

नेपाल धेरै राम्रो टोली रहेको र यो टोलीसँग जित निकाल्नु सुखद नतिजा रहेको उनले बताए। आफू पहिलोपल्ट नेपाल आएको र आफ्ना लागि यो पिच नौलो रहेको उनले उल्लेख गरे।

इङ्ल्यान्डजस्तो बलियो टोलीलाई विश्वकपमा नेपाल जितनजिक पुगेको टोली रहेको र त्यो टोलीसँग खेल्न सहज नभएको युएईका प्रशिक्षक राजपुतको भनाइ छ। उनको प्रशिक्षणमा भारतले सन् २००७ को टी ट्वान्टी विश्वकप उपाधि उचालेको थियो। उनले भारतसँगै अफगानिस्तान र जिम्बाब्वेजस्ता टोलीलाई प्रशिक्षण गराएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको