काठमाडौं। इङ्लिस प्रिमियर लिगमा ब्राइटनले चेल्सीमाथि सानदार जित निकाल्दै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ।
मंगलबार राति ब्राइटनको घरेलु मैदानमा सम्पन्न खेलमा ब्राइटनले चेल्सीलाई ३–० ले पराजित गरेको हो। यस जितसँगै ब्राइटन ३४ खेलबाट ५० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट ४८ अंक रहेको चेल्सी भने सातौं स्थानमा झरेको छ। यो हारसँगै चेल्सीले प्रिमियर लिगमा लगातार पाँचौं पराजय बेहोरेको छ।
खेलको सुरुआतदेखि नै दबाब बनाएको ब्राइटनले तेस्रो मिनेटमै फेर्दी कादियोग्लुको गोलमार्फत अग्रता लियो। पहिलो हाफमा चेल्सीले बराबरी गर्ने प्रयास गरे पनि सफल हुन सकेन र ब्राइटन १–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि ब्राइटनकै दबाब कायम रह्यो। ५६औं मिनेटमा ज्याक हिन्शेलवुडले तीव्र काउन्टर आक्रमणमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि चेल्सीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।
इन्जुरी समयमा वैकल्पिक खेलाडी ड्यानी वेलबेकले उत्कृष्ट गोल गर्दै ब्राइटनको जित सुनिश्चित गरे। उनलाई म्याक्सिम डे क्युपरले पास उपलब्ध गराएका थिए।


