काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा बिहीबारदेखि सुरु हुने दसौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक गरिएको छ।
एनभीएले सार्वजनिक गरेको तालिकाअनुसार लिगको पहिलो दिन महिला र पुरुषतर्फ समान दुई–दुई खेल हुनेछन्।
बिहान ८ बजे हुने खेलमा महिलातर्फ विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्। बिहान १० बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब आमनेसामने हुनेछन्।
पुरुषतर्फ दिउँसो १२ बजे हेल्प नेपाल स्पोर्ट्स क्लबले बुढानीलकण्ठ भलिबल क्लबसँग खेल्नेछ। दिउँसो ३ बजे उद्घाटन समारोह आयोजना हुनेछ भने ४ बजे त्रिभुवन आर्मी क्लबले खिल्जी युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
गत पुसमा काठमाडौंमा सम्पन्न नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले यस लिगमा प्रतिस्पर्धा गर्दैछन्। आगामी १९ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ ८ टोलीको सहभागिता रहनेछ।


