काठमाडौं। साबिक विजेता नेपाल पुलिस क्लब र एपीएफ क्लबले १०औं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहज सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबमाथि ३–० को सहज जित निकालेको हो। जितसँगै टोलीले ३ अंक जोडेको छ।
प्रतिस्पर्धात्मक पहिलो सेट पुलिसले २६–२४ ले आफ्नो बनाएको थियो। तर, त्यसपछिका सेटमा एभरेस्टले पुनरागमन गर्न सकेन।
सोही बेला पुलिसले खेल २५–१६ र २५–१७ ले आफ्नो बनायो।
पहिलो खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपीएफले २५-२३ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट भने १७-२५ ले गुमायो। त्यसपछि बाँकी दुई सेटमा २५-१९, २५-१९ आफ्नो पक्षमा पार्दै खेलमा जित हासिल गर्न सफल भयो।


