काठमाडौं। नेपालमा सबैभन्दा प्रतिष्ठित र उल्लेखनीय “विश्व टेबल टेनिस दिवस कार्यक्रम २०२६” ठूलो उत्साहका साथ बिहीबार मनाइएको छ।
विश्व टेबल टेनिस दिवसको अवसरमा स्ट्याग ग्लोबल तथा आईटीटीएफ प्रशिक्षक नरेस रावलले “द रोलिङ स्टोन्स स्कूल” मा स्कूलको सहकार्यमा एक भव्य खेलकुद कार्यक्रमको आयोजना गरेका हुन्
काठमाडौंको भिमसेनस्थानस्थितको स्कूलमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, स्वयंसेवक, सामाजिक कार्यकर्ता, मन्त्री, टेबल टेनिसका प्रतिष्ठित व्यक्तिहरूसहित ३ सयभन्दा बढी सहभागीहरूले विभिन्न खेलकुदका गतिविधिहरूमा रमाइलो गरे।
यस वर्ष विषय “स्वास्थ्य र कल्याण“ मा आधारित थियो र सहभागीहरूले विभिन्न खेलकुद कार्यहरूमार्फत यो विषयवस्तुको महत्व सिके। स्कूलका अध्यक्षः सुनीलकृष्ण श्रेष्ठ, निर्देशकः स्कूलकी निर्देशक बिनी श्रेष्ठ, विशिष्ट अतिथि वागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले स्वागत र धन्यवाद दिएका थिए।
दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव तथा एसियाली टेबल टेनिस युनियनका उपाध्यक्ष शंकर गौतमले साँचो स्वास्थ्य भनेको रोगको अनुपस्थिति मात्र होइन; यो पूर्ण शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था रहेकोले खेल्नु पर्ने बताए। स्कूलका प्रिन्सिपल दिरेकलाल श्रेष्ठले विभिन्न टेबल टेनिस खेलकुद कार्यक्रमका विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।
अन्तर्राष्ट्रिय टेबल टेनिस फाउन्डेसन, जर्मनीद्वारा स्ट्याग ग्लोबललाई तेस्रोपटक प्रवद्र्धकको रूपमा छनोट गरिएको हो। स्ट्याग ग्लोबल नेपालबाट विश्व टेबल टेनिसको प्रवद्र्धन गर्नेमा एकमात्र प्रवद्र्धकसमेत रहेको प्रशिक्षक रावलले बताए।


