काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १०औं संस्करणमा बुटवलको एभरेस्ट भलिबल क्लबले पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको दोस्रो खेलमा एभरेस्टले विभागीय टोली एपीएफ क्लबलाई ३–१ सेटले पराजित गर्यो।
एभरेस्टले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट १६–२५ ले गुमाएको थियो। त्यसपछि तेस्रो र चौथो सेट क्रमशः २५–१७ र २५–१६ ले जित्दै एभरेस्टले महत्वपूर्ण तीन अंक जोड्यो।
यसअघि पहिलो खेलमा एभरेस्ट नेपाल पुलिस क्लबसँग ३–० सेटले पराजित भएको थियो। यता, पहिलो खेलमा आर्मीलाई ३–१ सेटले हराएको एपीएफ दोस्रो खेलमा हार बेहोर्न बाध्य बन्यो।


