काठमाडौं। रुवाण्डामा जारी आइसीसी वुमन्स च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा हार बेहोरेसँगै नेपालले चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको छ।
९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा ७५ रनमै अलआउट भयो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रन जोडिन्।
त्यसअघि पहिले ब्याटिङ गरेको भानुआटुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९७ रन बनाएको थियो। भानुआटुका लागि ओपनर भालेन्टा लेन्गीतुले सर्वाधिक ४२ रन बनाइन् भने नसिमाना नाभिकाले १८ रन थपिन्।
नेपालका लागि रिया शर्माले २ विकेट लिँदा कविता कुँवर, पूजा महतो र मनिषा उपाध्यायले समान १/१ विकेट लिए।
एसोसिएट राष्ट्रहरूको महिला क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सुरु गरेको यो प्रतियोगिताको पहिलो संस्करण हो। डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा सबै खेलपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।


