काठमाडौं। सातदोबाटो युथ क्लब नवौं आमन्त्रण मेयर भोजपुर गोल्डकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ। अब सातदोबाटोले उपाधिका लागि घरेलु टोली भोजपुर जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ। भाेजपुरले बिहिबार सम्पन्न पहिलाे सेमिफाइनलमा एपीएफ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेकाे थियाे।
भोजपुर रंगशालामा शुक्रबार सम्पन्न दाेस्राे प्रतिस्पर्धात्मक सेमिफाइनलमा सातदोबाटोले प्लानिङ ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गरेको हो।
सातदोबाटोको जितमा राज भुषाल र समिर तामाङले समान एक गोल गरे। सातदोबाटोका सुरजज्यु ठकुरीले उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्लानिङका निशकुमार श्रेष्ठले गरेको गोल समान्त्वना बन्यो।
आठ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए। प्रतियोगिता वैशाख ६ गतेदेखि सुरु भएको हो।
फाइनल खेल आइतबार हुनेछ।


