काठमाडौं। १०औँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत मंगलबार सम्पन्न पुरुषतर्फका खेलमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।
दिनको पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार चौथो जित दर्ता गर्यो। रुकुमले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट १६–२५ ले गुमाएको थियो। तर चौथो सेट २५–११ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। जारी प्रतियोगितामा रुकुमको यो लगातार चौथो जित हो भने बुढानिलकण्ठ अझै जितविहीन छ।
दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले खिल्जी युवा क्लबलाई सोझो सेटमा ३–० ले पराजित गर्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले ३२–३०, २५–२३ र २५–१२ को सेटमा जित निकाल्दै लगातार चौथो सफलता हात पार्यो। यता, खिल्जीले चौथो हार व्यहोरेको छ।
दिनको अन्तिम तथा रोमाञ्चक खेलमा त्रिभुवन आर्मी क्लबले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै शानदार पुनरागमन जित निकाल्यो। सुरुआतका दुई सेट १८–२५ र २०–२५ ले गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट २५–२१, चौथो सेट २५–१६ र निर्णायक पाँचौँ सेट १५–१३ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो।
यो जितसँगै आर्मीले लगातार तेस्रो जित दर्ता गर्दा एपीएफले तेस्रो हार बेहोरेको छ। प्रतियोगितामा रुकुम पश्चिम, पुलिस र आर्मीले विजयी यात्रा कायम राख्दै उपाधि होड थप रोचक बनाएका छन्।


