पुलिस र रुकुम पश्चिम च्याम्पियन


काठमाडौं। नेपाल पुलिस क्लबले आफ्नो वर्चस्व कायम राख्दै १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत महिलातर्फ उपाधि जितेको छ।

यस्तै, पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब वर्चस्वलाई ताेड्दै उपाधि जितेकाे छ।

फाइनलमा पुलिसले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै चौथो पटक उपाधि उचाल्यो। यससँगै पुलिस प्रतियोगिताको सबैभन्दा सफल महिला टोली बनेको छ भने लगातार तेस्रो पटक काभा क्लब च्याम्पियनसिपमा स्थान सुरक्षित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुलिसले २५–२१, १७–२५, २५–२३ र २५–१९ को सेटमा जित हात पार्दै च्याम्पियन बन्यो।

लिग चरणमा भोगेको हारको बदला लिँदै उपाधि जितेको पुलिसले नगद १० लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता न्यु डायमण्डले ५ लाख रुपैयाँमा चित्त बुझायो।

यस्तै, महिलातर्फ तेस्रो भएको एभरेष्ट भलिबल क्लबले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगितामा महिलातर्फ कुल ६ टोलीको सहभागिता रहेको थियो।

पुरुषतर्फ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधि जित्यो।

उपाधिसँगै रुकुम पश्चिमले १० लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता हेल्प नेपालले ५ लाख रुपैयाँ पाउँदा तेस्रो भएको नेपाल पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँ हात पार्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको