उषा र फहाद सर्वोत्कृष्ट खेलाडी


काठमाडौं। च्याम्पियन नेपाल पुलिस क्लबकी उषा भण्डारी र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका फहाद राजा १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उषा महिलातर्फ तथा पाकिस्तानी खेलाडी फहाद पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा दुवै खेलाडीले आफ्नो टोलीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण भूमिका खेलेका थिए।

महिलातर्फ नेपाल पुलिस क्लबले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जित्दा पुरुषतर्फ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। सर्वोत्कृष्ट खेलाडी बन्दै उषा र फहादले ट्रफीसहित समान ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

लिग चरणमा पुलिस ३-२ काे सेटमा पराजित हुँदा रुकुम ३-0 साेझाे सेटमा पराजित भएकाे थियाे। रुकुमले उक्त हारकाे बदला लिएकाे छ।

महिलातर्फ उत्कृष्ट लिबेरो न्यु डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सेटर प्रगति नाथ र उत्कृष्ट स्पाइकर पुलिसकी लक्ष्मी चन्द घोषित भए। उत्कृष्ट सर्भर र ब्लकर दुवै विधामा न्यु डायमण्डकी सुमित्रा रेग्मी सफल भइन्। उत्कृष्ट प्रशिक्षकको उपाधि नेपाल पुलिस क्लबका रुपेश बिष्टले जिते।

पुरुषतर्फ उत्कृष्ट लिबेरो रुकुम पश्चिमका राजन दर्लामी, उत्कृष्ट सेटर आदन खान, उत्कृष्ट सर्भर हेल्प नेपालका पाकिस्तानी खेलाडी मुराद जेहन, उत्कृष्ट स्पाइकर रुकुमकै आफ खान तथा उत्कृष्ट ब्लकर हेल्प नेपालका चिरञ्जीवी खड्का घोषित भए।

यस्तै, पुरुषतर्फ रुकुम पश्चिमका तेज विक्रम बुढा उत्कृष्ट प्रशिक्षक बने। विधागत उत्कृष्ट घोषित भएका महिला तथा पुरुष दुवैतर्फका खेलाडी र प्रशिक्षकले समान ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको