प्रदीप र शिभाली च्याम्पियन


काठमाडौं। प्रदीप खड्का र शिभाली गुरुङ १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्। सिंगल्सको पुरुषमा प्रदीप र महिलामा शिभाली पहिलो भएका हुन्। दुवैले पहिलो सेटमा पछि परेको स्थितिलाई उल्ट्याउँदै उपाधि जित्न सफल भए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई २–६, ६–३ र ६–४ को सेटमा पराजित गरे। सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ३–६, ६–३ र ६–१ को सेटमा हराइन्।

नेपाल टेनिस संघको सहयोगमा भएको प्रतियोगितामा जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष डबल्समा प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी, ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र छेवाङ लामाको जोडी, ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्री, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडी पहिलो भएका थिए।

त्यस्तै ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी, ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा, ६५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपको जोडी तथा ७० वर्षमाथि पुरुष सिंगल्समा धीरबहादुर गुरुङ च्याम्पियन बनेका थिए।

विजेतालाई सिटिजन्स बैंकका निर्देशक विजयध्वज कार्की र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल र महासचिव निरेश श्रेष्ठ, आयोजक काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष प्रवीण वैद्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

विभिन्न १२ स्पर्धामा १ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सबै स्पर्धाका पदक विजेतालाई आयोजकको तर्फबाट कुल ५ लाख ६८ हजार ७ सय ५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। त्यसबाहेक सिटिजन्स बैंकले पुरुष÷महिला सिंगल्सका विजेता र उपविजेतालाई छुट्टै कुल १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार उपलब्ध गराएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको