काठमाडाैं। इङ्लिस प्रिमियर लिगअन्तर्गत रोमाञ्चक खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ।
आइतबार राति युनाइटेडकाे घरेलु मैदान सम्पन्न खेलमा युनाइटेड ३–२ गोल अन्तरले विजयी भएकाे हाे। जितसँगै ३५ खेलबाट ६४ अंक जाेडेर तेस्राे स्थनामा रहेकाे युनाइटेड अर्काे सिजनकाे यूईएफए च्याम्पियन्स लिगमा छनोट भएको छ। समान खेलबाट ५८ अंक रहेकाे लिभरपुल चाैथाे स्थनामा छ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको युनाइटेडले छैटौं मिनेटमा म्याथियस कुन्याको गोलमार्फत अग्रता लियो। त्यसपछि १४औं मिनेटमा बेन्जामिन सेस्कोले गोल थप्दै पहिलो हाफमै युनाइटेडलाई २–० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफको सुरुआतमै लिभरपुल खेलमा फर्कियो। ४७औं मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै अन्तर घटाए भने ५६औं मिनेटमा कोडी गाक्पोले बराबरी गोल गरेपछि खेल २–२ को स्थितिमा पुग्यो।
बराबरीपछि दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि ७७औं मिनेटमा कोबी मैनूले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए। बाँकी समयमा लिभरपुलले अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा युनाइटेडले ३–२ को महत्वपूर्ण जित हात पार्यो।


