काठमाडौं। त्रिकोणात्मक एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमै समेटियो।
स्कटल्याण्डका ओपनर फिन्ले म्याक्राथले सर्वाधिक ५२ रन बनाए। उनले ७३ बलमा ६ चौका र १ छक्काको मद्दतमा अर्धशतकीय इनिङ खेले। त्यस्तै, ज्याक जार्भिसले ४५ रन जोड्दा मार्क वाटले ३७, ब्रेन्डन म्याकमुलनले २१, म्याथु क्रसले २२ तथा ओलिभर डेभिडसनले १७ रन बनाए।
नेपाल ‘ए’ का राशिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २–२ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।
नेपाल ‘ए’ का देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ६५ बलमा ६ चौका र १ छक्कासहित शानदार अर्धशतक प्रहार गरे। ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे। सन्दीप जोराले ३४, पवन सर्राफले ३१ तथा नारायण जोशीले ८ रन बनाए। दीपक डुम्रे २३ रनमा अविजित रहे।
स्कटल्याण्डका लागि ब्राड्ली करी र सफियान सरिफले समान २–२ विकेट लिए। ओलिभर डेभिडसन, ब्रेन्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १–१ विकेट हात पारे।


