काठमाडाैं आयोजक श्री युवा जनहित क्लब कैलालीको कैलारी गाउँपालिकामा भएको ‘छैटौँ निसर्ग हस्पिटल बड्का भजहर कप फुटबल प्रतियोगिता’ को उपाधि बर्दियाको नेम्स क्लबले जितेको छ।
श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भएको प्रतियोगिताको फाइनलमा नेम्सले उपाधि जितेको हो। कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको फाइनलमा आयोजक श्री युवा जनहित क्लबलाई २–० ले हराउँदै नेम्स च्याम्पियन भएको हो।
प्रतियोगिताको विजेता नेम्सले एक लाख रुपैयाँ र उपविजेता बनेको आयोजक जनहितले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ। फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएका थिए।