बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

काठमाडाैं। बार्सिलाेनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि २–० को जित निकाल्दै स्पेनिस ला लिगाकाे उपाधि जितेकाे छ। रोमाञ्चक ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले पहिलो हाफमै दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

जितसँगै ३५ खेलबाट ९१ अंक पुर्याएकाे बार्सिलनाले तीन खेल बाँकी रह्दै लिगकाे उपाधि जमाएकाे हाे। समान खेलबाट ७७ अंक रहेकाे रियल दाेस्राे स्थनामा छ।

खेलको नवौं मिनेटमा मार्कस रासफोर्डले आकर्षक फ्रिकिक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। फेरान टोरेसले कमाएको फ्रिकिकमा रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरले फाउल गरेपछि प्राप्त अवसरलाई रासफोर्डले उत्कृष्ट रूपमा सदुपयोग गरेका थिए।

१८औं मिनेटमा फेरान टोरेसले डानी ओल्मोको पासमा गोल थप्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। त्यसपछि खेलभरि रियल मड्रिडले फर्कने प्रयास गरे पनि बार्सिलोनाको रक्षापंक्ति मजबुत देखियो।

रियल मड्रिडका भिनिसियस जुनियर, जुड बेलिङ्घम र ओरेलियन चुआमेनीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। खेलको दोस्रो मिनेटमै भिनिसियसको प्रहार बार्सिलोनाका गोलरक्षक जोआन गार्सियाले शानदार बचाउ गरेका थिए।

दोस्रो हाफमा पनि बार्सिलोनाले दबाब कायम राख्यो। राफिन्हा, फेरान टोरेस र रोबर्ट लेवान्डोस्कीले थप गोलका अवसर बनाए पनि रियल मड्रिडका गोलरक्षक थिबाउट कुर्तुवाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई थप क्षतिबाट जोगाए।

खेलको ५५औं मिनेटमा जुड बेलिङ्घम पहेँलो कार्डको शिकार बने भने रियल मड्रिडका राउल असेन्सियो, एडुआर्डो कामाभिङ्गा तथा ट्रेन्ट अलेक्जान्डर–आर्नोल्डले पनि पहेँलो कार्ड पाए। बार्सिलोनाका डानी ओल्मो र राफिन्हाले पनि कार्ड बेहोरे।

बार्सिलोनाले खेलको अन्त्यतिर राफिन्हा, फ्रेन्की डे योङ, रोबर्ट लेवान्डोस्की र अलेजान्द्रो बाल्डेलाई मैदान प्रवेश गराउँदै खेल नियन्त्रणमा राख्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको