नेटको प्रदर्शन खेलमा देखिएन, स्कटल्यान्डसँग हारपछि प्रशिक्षक स्टुआर्ट ल निराशा (भिडियोसहित)


काठमाडौं। स्कटल्यान्डसँगको साँघुरो हारपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले नेटमा देखिएको उत्कृष्ट ब्याटिङ प्रदर्शन खेलमा दोहोरिन नसकेको बताएका छन्।

खेलपछि प्रतिक्रिया दिँदै प्रशिक्षक लले नेपालले सुरुआतमा उत्कृष्ट बलिङ गर्दै स्कटल्यान्डलाई नियन्त्रणमा राखेको र लक्ष्य भेट्टाउन सकिने अवस्थामा पुगेको बताए। तर, लगातार छिट्टै विकेट गुमाउँदा टोली दबाबमा परेको उनको भनाइ थियो।

उनले खेलपछि खेलाडीसँग कुराकानी गरेको उल्लेख गर्दै टोली अन्तिमसम्म जितको नजिक पुगे पनि सफलता हात पार्न नसकेको बताए। गुलसन झाले उत्कृष्ट इनिङ खेले पनि अन्तिम क्षणमा टोलीलाई जित दिलाउन सकेनन् उनले थपे। सातौं नम्बरमा ब्याटिङ गर्न आउँदा दबाब बढी हुने भएकाले गुलसनले परिस्थितिअनुसार राम्रो प्रयास गरेको भन्दै उनले खेलाडीको बचाउ गरे।

प्रशिक्षक लले स्कटल्यान्ड अन्तिमसम्म लड्ने टोली भएको उल्लेख गर्दै नेपाल केही महत्वपूर्ण क्षणमा चुकेको बताए। “हामीले केही क्षेत्रमा अपेक्षाअनुसार राम्रो गर्न सकेनौँ,” उनले भने।

लिग–२ का शीर्ष दुई टोलीविरुद्ध खेल्दा हरेक विभागमा उत्कृष्ट प्रदर्शन आवश्यक पर्ने धारणा पनि उनले राखे। उत्कृष्ट तयारीका बाबजुद त्यसलाई नतिजामा बदल्न नसकेको उनको स्वीकारोक्ति थियो।

प्रशिक्षक लले नेट अभ्यासमा राम्रो ब्याटिङ गरेका खेलाडीहरूले त्यसलाई खेलमा रूपान्तरण गर्न नसकेको दोहोर्‍याए। टोली ग्यापमा सट खेल्ने योजनासहित मैदानमा उत्रिए पनि त्यसमा पूर्ण रूपमा सफल हुन नसकेको उनले बताए।

यद्यपि, कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीबीचको साझेदारी सकारात्मक पक्ष रहेको भन्दै प्रशिक्षक लले त्यसको प्रशंसा गरे।

भिडियाे हेर्नुहाेस् :


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको