काठमाडौं। ओपनर कुशल भुर्तेलको शतककाे सहयाेगमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेकाे छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतकाे खेलमा ओपनर कुशल भुर्तेलको विष्फोटक शतकीय इनिङ्सको मद्दतले नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
नेपालकाे जितमा भुर्तेलले ११८ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतले अविजित १२० रनको योगदान दिए।
आसिफ शेखले ५८ रन बनाए। शेख र भुर्तेलले पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरेका थिए।
७२ बल खेलेका आसिफले ८ चौका प्रहार गरे। आसिफ शेख आउट भएपछि क्रिजमा आएका इशान पाण्डेले ३० बलमा १ चौकासहित अविजित २० रन जोडे।
अमेरिकाका लागि एकमात्र विकेट मोहम्मद मोहसिनले लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका ४३.३ ओभरमा १९५ रनमा समेटिएको थियो।


