काठमाडौं। स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले स्कटल्यान्डलाई १९४ रनमा समेटेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा अलआउट भएको हो।
स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ७३ रन बनाए। उनले ६ चौका र ६ छक्का प्रहार गरे। माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए भने जर्ज मुन्सेले २१ तथा मार्क वाटले २० रन जोडे। अन्य ब्याटर भने नेपाली बलरहरू सामु टिक्न सकेनन्।
नेपालका बलरमध्ये ललित राजवंशी सर्वाधिक सफल रहे। उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ४७ रन दिँदै ३ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र सोमपाल कामीले समान एक–एक विकेट लिए।
खेलको क्रममा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्दै अर्को महत्वपूर्ण कीर्तिमान पनि कायम गरेका छन्।
नेपालले अब जितका लागि १९५ रनको लक्ष्य पछ्याउनेछ।


