काठमाडौं। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सात वर्षपछि लिग उपाधि जित्दै आफ्नो करियरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।
बिहीबार राति सम्पन्न साउदी प्रो लिग अन्तर्गत सिजनको अन्तिम खेलमा डामाक एफसीलाई ४–१ गोलले पराजित गर्दै अल नासरले उपाधि जितेको हो।
यस जितमा रोनाल्डोले दुई गोल गरे। यससँगै उनले साउदी लिगमा यस सिजन २८ गोल पूरा गरेका छन् भने आफ्नो करियरको कुल गोल संख्या ९७३ पुगेको छ।
पछिल्ला वर्ष इटालियन क्लब युभेन्टस छोडेपछि उनले पहिलो पटक लिग उपाधि जितेका हुन्। लामो प्रतीक्षापछि उनले साउदी प्रो लिगको च्याम्पियन मेडल आफ्नो ट्रफी संग्रहमा थप्न सफल भएका छन्।
यो उपाधि उनका लागि निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनको परिणामका रूपमा लिइएको छ, जसले उनको सुनौलो करियरलाई थप स्मरणीय बनाएको छ।
यसअघि अल नासरले साउदी प्रो लिगको उपाधि सन् २०१९ मा जितेको थियो। त्यही वर्ष रोनाल्डोले युभेन्टसलाई इटालियन सिरी ‘ए’ को उपाधि दिलाएका थिए। त्यसपछि उनी लगातार दुई सिजन लिग उपाधिविहीन बनेका थिए।
पछि २०२२/२३ सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहेका बेला पनि उनले लिग उपाधि जित्न सकेनन्। सन् २०२२/२३ सिजनमा अल नासरमा आबद्ध भएपछि भने उनले चौथो सिजनमा पुगेर साउदी प्रो लिगको उपाधि जित्न सफल भएका हुन्।