काठमाडाैं। घरेलु टोली नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो।
नेपाल पहिलो सेटमा २५–२३ तथा दोस्रो सेटमा २५–२२ ले पराजित भएको थियो। तेस्रो सेट भने नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्यो। तर, चौथो सेटमा २५–२२ ले पराजित हुँदै नेपाल प्रतियोगितामा पदकविहीन बन्न पुग्यो।
यससँगै नेपाल घरेलु कोर्टमा पहिलो पटक पदकविहीन बनेको हो। नेपाल सेमिफाइनलमा इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धामा पुगेको थियो भने भारत काजाकिस्तानसँग समान सेटमा पराजित भएको थियो।
गत ८ जेठबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो। यससँगै नेपाल चौथो स्थानमा सीमित बनेको छ। प्रतियोगिताको उपाधिका लागि काजाकिस्तान र इरानबीच आजै प्रतिस्पर्धा हुनेछ।