काठमाडौं। जेम्स स्कुलले एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत अक्षरिका स्कुलमाथि १२५ रनको एकतर्फी जित दर्ता गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।
जेम्सका लागि कप्तान सुदिश पौडेलले २० बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए। स्वराज चौलागाईंले १८, प्रचेत नाखोटियाले १८, दिक्षान्त मिश्राले १९ तथा दिप्सुन कटवालले अविजित २३ रनको योगदान दिए।
अक्षारिका प्रज्वल रिजालले ३ विकेट लिए भने सम्भ्रान्त लायालु र आशिष थापाले समान १–१ विकेट हात पारे।
१५० रनको लक्ष्य पछ्याएको अक्षारिका १०.५ ओभरमै २४ रनमा अलआउट भयो। टोलीका आठ ब्याटरले एकल अंकसमेत छुन सकेनन् भने अतिरिक्तबाट प्राप्त १५ रन नै टोलीको मुख्य स्कोर बन्यो।
जेम्सका प्रचेत नाखोटियाले र स्वराज चौलागाईंले ३ विकेट लिए भने प्रगव पाण्डेले २, अञ्जन झाले र आरव ग्यावलीले समान १–१ विकेट लिए।
यो जितसँगै जेम्सले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।