काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’मा नेपाल पुलिस स्कुलले विजयी सुरुआत गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस स्कुलले द सेलिब्रेसन सहशिक्षा विद्यालयलाई ६४ रनले पराजित गरेको हो।
जितका लागि १३८ रनको लक्ष्य पछ्याएको द सेलिब्रेसन १४.५ ओभरमा ७३ रनमै अलआउट भयो। टोलीका लागि सत्कार केसीले १५ तथा असेम पुडासैनीले १४ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। अतिरिक्तबाट प्राप्त २१ रन पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।
पुलिसका लागि सुनिल ठाकुर र सागर सिंहले समान २–२ विकेट लिए। सुजित यादवले १ ओभरमा २ विकेट लिए भने बिवशकुमार यादव, प्रियान्सु किशोर राउत तथा प्रिन्स राज यादवले समान १–१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुल १८ ओभरमा १३७ रनमा समेटिएको थियो। सुनिल ठाकुरले २८ बलमा ८ चौकासहित सर्वाधिक ३९ रन बनाए। श्याम बाबु ठाकुरले २२ तथा राज प्रताप यादवले १३ रनको योगदान दिए।
पुलिसको इनिङ्समा अतिरिक्तबाट मात्रै ४३ रन प्राप्त भएको थियो, जसले टोलीलाई प्रतिस्पर्धात्मक योगफल बनाउन महत्वपूर्ण भूमिका खेल्यो।
द सेलिब्रेसनका लागि कृष्ण हमालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।
यस जितसँगै समूह ‘जी’मा रहेको नेपाल पुलिस स्कुलले पहिलो खेलबाट दुई अंक जोड्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।