अक्षरिकाको पहिलो जित

काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा अक्षरिका स्कुलले लिभरपुल सेकेन्डरी स्कुललाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। यसअघि पहिलाे खेलमा अक्षरिका जेम्स स्कुलसँग १२५ रनले पराजित भएकाे थियाे।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अक्षारिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो। टोलीका लागि कप्तान आर्यन शाहले सर्वाधिक २७ रन बनाए भने दिव्यांश जोशी १७ रनमा अविजित रहे। अतिरिक्तबाट अक्षारिकाले ४६ रन प्राप्त गरेको थियो। जितसँगै दुई खेलम अक्षरिकाले दुई अंक जाेडेकाे छ।

१३८ रनको लक्ष्य पछ्याएको लिभरपुल १८.३ ओभरमा १०० रनमै अलआउट भयो। उसका कप्तान राजन खड्काले ३८ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

अक्षरिकाको जितमा प्रशम हुमागाईं, सम्भ्रान्त लायालु र आशिष थापाले समान २–२ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका आर्यन शाह ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई पिक पोइन्टको तर्फबाट नगद रु १ हजार ५ सय पाए।

प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा २४ विद्यालय सहभागी छन्। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। प्रतियोगिता सञ्चालनमा विभिन्न बैंक, शैक्षिक संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूको सहयोग रहेको आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको